पब्लिक समाचार

६ महिना अगाडि / ११५  पटक हेरिएको

प्रिय रिहान
धेरै धेरै सम्झना एवं प्यार।

जब तिमी यो सुन्दर धरतिमा आयौ, हामीआफन्तहरुले खुसीयाली मनायौँ। तिमीलाई काखमा लिँदा मलाई पनि आनन्द आएको थियो। तिम्रो जन्मसँगसँगै न्यौपाने परिवारमा खुसीरुपी चरा भुर्र उडेर आयो र थुपुक्क बस्यो। तर त्यो सुनौला चरा केही क्षणमा नै भुर्र उडेर गयो। तिमी स्वस्थ जन्मिएका थियौ र स्वस्थ नै थियौ तर तिम्रो स्वास्थ्यमाथि चिकित्सकहरुले खेलवाड गरे र तिम्रो टाउकोमा पिप जमेको छ भनेर तिमी जन्मिएको ९ महिना नपुग्दै तिम्रो नसानसामा नानाथरीका सुई लगाएर मस्तिष्कमाथि पाँचपाँचपटक छुरा र कैँची चलाएर शल्यक्रिया गरे।

त्यही शल्यक्रियाले तिमीअपांग भयौ। तिम्रो मस्तिष्क कहिल्यै नफर्कने गरी बन्द भयो। तिम्रो जीवनको बर्बादीबाट त्राण पाउन तिम्रा बाबुआमाको लागि अर्को विकल्प पनि त थिएन, त्यसैले ती चिकित्सकमाथि भर परिरहे र उनीहरुलाई तिम्रो मस्किष्कमाथि छुरा चलाउने अनुमति दिँदै गए। तिमी झन् कुरुप हुँदै गयौ। तिम्रो प्राण बचाउनका लागि खर्च भएको धन सम्पत्तिको त के कुरा गर्नु ? सुन्दा पनिआँग नै सिरिंग हुन्छ। तिनै चिकित्सकको चरम लापरवाहीका कारण अहिले तिम्रो जीवन मृत्युमय छ। तर त्यो कुरा तिमीलाई थाहा छैन।

तिम्रा बाबुआमा चाहन्थे, तिमी उनीहरुको परिवारको सदस्य बनेर खुसीयाली दिनेछौ, उनीहरुको जीवनमा बहार ल्याउनेछौ, न्यौपाने परिवारको वंशलाई निरन्तरता दिनेछौ। तर त्यसो हुन सकेन, भएन। यो तिम्रो काम वा कर्तव्यका कारण होइन, यो त जीवनदायिनी अस्पतालले दिएको पीडा हो। यो अथाह पीडा तिमीलाई थाहा छ, तिमीले पलपल भोगिरहेका छौ तर व्यक्त गर्न सक्दैनौ। अभिभावकहरुले पनि अनुभव त गर्न सक्दछन् तर अनुभूत गर्न सक्दैनन्।

विगत डेढ वर्षदेखि जीवनदाता डाक्टर र जीवनदायिनी अस्पतालले गरेको गम्भीर त्रुटिको असर तिम्रो शरीरको प्रत्येक मांशपेशीमा परिरहेको छ। चलमलाएर ताते ताते गर्दै भर्‍याङका खुड्किलामा ओहोर दोहोर गर्ने, खेलौना बोकेर कोठाचोटा चहार्ने तिम्रो उमेर हो यो। तर तिमी थला परेर मृत्यु शैय्यामा इन्तु न चिन्तु बनेर निख्लोट सुतिरहेका छौ। अहोरात्र तिम्रा आँखा सिलिंगतिर मात्र फर्केका हुन्छन्। तिम्रो रुप र रंग हेर्दा लाग्छ, तिमी धरतिबाहिरबाट आएकाअन्तरीक्ष मानव हौ।

रिहान, यो ध्रुवसत्य हो, यस धरतिमाआएका सबै चेतनले मृत्युवरण गर्नुपर्छ। तिमीले पनि मर्नैपर्छ, हामीले पनि मर्नैपर्छ। तर जुन किसिमले तिमीले मृत्युको घिडघिड भोगिरहेका छौ, त्यो अरुको भन्दा नितान्त भिन्न छ। तिमी तड्पिएकोमा हामी सबै चिन्तित छौँ। यतिखेर सारा देशवासी तिम्रो पीडामा रोइरहेका छन्। विडम्वना, चिकित्सक र अस्पताल भने मानवीय त्रुटि भनेर उम्कने प्रयासमा छ। यो कहाँको न्याय हो?तिम्रो बाबु पुस्ताले ठूलो संघर्ष र बलिदानीद्वारा प्राप्त गरेको यो लोकतान्त्रिक व्यवस्थाको मूलभूत विशेषता भन्नु नै जनउत्तरदायी राज्य व्यवस्था हो।

यहाँ सबै तह र तप्कामा रहेका मानिसहरुले मनसा, कर्मणा र वाचा आआफ्नो उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ। यो सबैजना न्यायको आँखामा समान हुन्छन् भन्ने सिद्धान्त हो। त्यसैले यहाँ डाक्टरले गल्ती गर्दा उनीहरु पनि सजायको भागिदार हुनुपर्छ भन्ने सिद्धान्त विकास हुनुपर्छ।

रिहान, तिमी वास्तवमा बहादुर रहेछौ। तिम्रा बाबुआमा बहादुर रहेछन्। जसले यस्तो विपदमा पनि आफ्नो कर्तव्यका खातिर भोक, प्यास र निद्राबाट विचलित नभइकन आफ्नो भएको जागिरे जीवनबाट बिदा लिएर तिम्रो स्याहार र सुरक्षा गरिरहेका छन्। उनीहरुको आँखाअगाडि तिम्रो मृत्यु नाचिरहेको छ। कुन दिन तिमीले फेरेको सास नै अन्तिम हुनेछ, त्यो उनीहरुले कुरिरहेका छन्। उनीहरुकै आँखा अगाडि तिमीले आफ्नो अन्तिम स्वास लिनेछौ र सदाका लागि ती आँखाहरु बन्द गर्नेछौ। कसैले भन्न सक्दैन, त्यो आँखा कहिले झ्याप्प बन्द हुन्छ।

रिहान, तिमीले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा आन्दोलनको सूत्रपात गरिदिएका छौ सम्भवत त्यो डा. गोविन्द केसीले गरेको आन्दोलनको एउटा भाग हो। पत्रपत्रिकादेखि टेलिभिजनमा डाक्टरको लापरवाही र तिम्रो पीडाका कथाहरु लगातार आइरहेछन्। के यो चानचुने विषय हो? डेढ वर्षको उमेरमा तिमीले नजानेरै देशमा एउटा समूल क्रान्ति ल्याएका छौ।

तिमी जन्मिएको केही दिनमा नै हो तिम्रो हजुरबाले ८४ वर्षको उमेरमा देहत्याग गर्नुभयो। परिवारको वृद्ध सदस्य गुम्दाको पीडा सबैलाई हुन्छ, त्योभन्दा कैयौँ गुना पीडा परिवारको कान्छो सदस्यको मृत्यु हुँदा हुन्छ। तिम्रो मृत्यु अस्वाभाविक हो। तिम्रो जन्म सहज होस् भनेर नै त हो तिमीलाई तिम्रा बाबुआमाले अन्तर्राष्ट्रिय नामधारी अस्पताल लगेका। तर नामले केही नहुने रहेछ। हामीजस्ता गरीब र निमुखाहरुले प्रत्येक क्षण यस्तै अभाव र पीडा लिएर बाँच्नुपर्छ। माफ गर रिहान, त्यसैले त हाम्रो देशका नेताहरु आफ्नी स्वास्नीको झमझमाएको हातको उपचार गर्न अमेरिकासम्म पुग्छन्। छेरपाटे लाग्यो भने सिंगापुर र मलेशिया जान्छन्। क्यान्सरको शंका लागे जापान जान्छन्। हाम्रा अस्पतालहरुले सामान्यभन्दा सामान्य रोगको निदान गर्न सक्दैनन् भन्ने अविश्वासले त होला यसो गरेका? तिम्रा बाबुआमा कुनै नेताका छोराछोरी भएको भए तिम्रो पनि उपचार विदेशमा हुन्थ्यो होला। त्यो भएन। त्यो सम्भावना पनि होइन। त्यसका लागि तिमीले अभिभावकलाई क्षमा त दिनैपर्छ। तर अन्तर्राष्ट्रिय भनेर नाम जोडिएको ग्राण्डीलाई तिमीले जाँदाजाँदै आशीष दिएर जानैपर्छ ताकि त्यो अस्पताल, त्यहाँको प्रशासन, त्यहाँका चिकित्सक पैसाप्रति होइन कि सदासर्वदा आफ्नो पेशाप्रति उत्तरदायी होउन्।

त्रुटि मानवीय कमजोरी हो। मानवले नै हो, त्रुटि गर्ने। डाक्टरहरुले पनि गल्ती गरेकै हुन्। गल्तीलाई गल्ती भएको हो भन्न सक्ने क्षमता डाक्टरहरुमा विकास हुनु जरुरी छ। अन्यथा फेरि अर्का रिहानहरु डाक्टरको लापर्वाहीको शिकार भइरहन्छन्। अस्पताललाई प्रयोगशालाका रुपमा होइन, जीवनदाताका रुपमा चित्रित गर्नुपर्छ।

रिहान, अब म धेरै लेख्दिन। तिमीले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा आन्दोलनको सूत्रपात गरिदिएका छौ सम्भवत त्यो डा. गोविन्द केसीले गरेको आन्दोलनको एउटा भाग हो। पत्रपत्रिकादेखि टेलिभिजनमा डाक्टरको लापरवाही र तिम्रो पीडाका कथाहरु लगातार आइरहेछन्। के यो चानचुने विषय हो? डेढ वर्षको उमेरमा तिमीले नजानेरै देशमा एउटा समूल क्रान्ति ल्याएका छौ। अभिभावकका लागि मात्र होइन, देशका तमाम विपन्न परिवारका लागि पनि यो गर्विलो कुरा हो। आम मान्छेले सय वर्ष बाँच्दा पनि गर्न नसकेको काम तिमी एक्लैले मृत्युशैय्याबाटै गरेका छौ। तिम्रो जन्मले सार्थकता पाएको छ। यो तिम्रो जन्मको सफलता पनि हो। डाक्टरहरुलाई उत्तरदायी बनाउने अभियानमा तिम्रो मौनता काफी भएको छ। अस्पताल र डाक्टरहरुले के कस्ता प्रपन्च र जालझेल रचेर कसरी जनताबाट पैसा असुलेर जनतालाई कसरी कंगाल बनाउँदा रहेछन् भन्ने उदाहरण तिम्रो स्वास्थ्य समस्याले उजागर गरेको छ। यसका लागि तिमीलाई सलाम। त्यसैले रिहान, तिमी जाऊ। यो कहालीलाग्दो दुख, पीडा र वेदनाबाट चाँडो मुक्त होउ। यो लोकभन्दा परको लोक तिम्रो लागि कल्याणकारक छ। त्यो लोकवासीहरु तिमीलाई स्वागत गर्न फूलमाला र अबीर लिएर बसेका छन्।

तिम्रो हजुरबा।

शनिबार, पौष २६, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]