बुधवार, २९ पुष, २०७७
काठमाडौं-वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको एक सय चार वर्ष पुरानो दुई सय मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले सो जानकारी दिए । मन्त्री फुयाँलले काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदीकुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकेको बताए ।
उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशित गरिने जानकारी दिए । मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनियर प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन दिएउनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिका लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका २२ इन्जिनियरलाई स्वागत गरे । मन्त्री फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ स्थित राणाकालमा निर्मित एक सय चार वर्षीय पुरानो सुरुङ मार्गको स्थलगत अवलोकन गरेका थिए । यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
बुधबार, पौष २९, २०७७मा प्रकाशित गरिएको