गोठकृष्ण ठकुरी उदयपुर
खै के छ ऊसँग
सँधै सुत्ने बेलामा पर्स हेर्छ
अनि खुइया गर्छ
खै के छ उसको पर्समा
एउटा कागजको टुक्रा जस्तो
सायद,
बहिनीको विवाहको रिन
नानीहरुको स्कुल फिसको लिस्ट
श्रीमतिको फर्माइस,
बाआमाको आसा
छोराछोरीको माग पत्र
अनि यो सब धान्न नसक्ने
थोरै पैसा
यस्तै छ कि
खै के छ ऊसँग
कहिले सिलाउँदै
कहिले सुलेसन टाँस्दै
जुत्ताको सोल टालेर
काम चलाएको पनि
महिनौ वितिसक्यो
त्यस्तै छ मोजाको गति
औँलाले हावा खान निस्केको
थुप्रै महिना भइसक्यो
छोरालाई बाइक किन्देर
छोरा बाइक चढेको
खुसीमा रमाउँदै
आफु बस स्टेसनमा उभिएको छ
खै के छ उसले बर्षौ देखि
काखी च्यापी हिँडेको झोला भित्र
सायद
आधा सकिएको एक टोटा धागो
त्यसमै उनीएको सानो सियो
रिन झिकेको कागज पत्र
खियाले पुरानो भएको
दारी काट्ने मेसिन
यस्तै छ कि
काँधमा जिम्मेबारी र
मनमा लक्ष्य भएपछि
शरिरले धान्नै पर्छ क्यारे
र त ऊ सँधै
फोनमा ठिकै छ
राम्रो छ मात्र भन्छ,
के उसलाई कहिले नराम्रो हुँदैन?
उसको मन रुदैन ?
उसलाई पीडा हुँदैन ?
उ बिरामी पर्दैन ?
खै के छ ऊसँग
गजल
गोठकृष्ण ठकुरी उदयपुर
दिनरातको जिम्मेवारी बाँकी छ
छ मसँग इमान्दारी बाँकी छ
यहाँ आइयो दुःख गरियो कमाइयो
यो मुलुकसँगको विदावारी बाँकी छ
जसरी नि उकास्नु छ, यसपाली
बन्दकी राखेको घरबारी बाँकी छ
नानी, बाआमा सबैलाई किनियो
अब श्रीमतिलाई सारी बाँकी छ
लाहुरे भएर जानु पर्ने कस्तो विर्सेको
चट्ट मिलाएर काट्न दारी बाँकी छ
हतार छ मलाइ अहिले जान्छु है
गर्नु पर्ने थुप्रै तयारी बाँकी छ