२० साउन २०७९-गाईघाट त्रियुगा नगरपालिका १० बोक्सेमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र को नयाँ भवनको निर्माण कार्य सम्पन्न भएको छ।तीन तले सुबिधा सम्पन्न भवन १ करोड ९८ लाख ७७ हजार ५ सय ८२ रुपैयाँ ९ पैसा लागतमा सम्पन्न भएको हो ।
उक्त भवनको उद्घाटन १ नम्बर प्रदेशका कृषि मन्त्री झलकबहादुर मगरले गर्दै किसानले खोजेको सेवा विस्तार गर्न समयानुकल परिवर्तन गर्दै लैजाने समेत बताए । उनले विज्ञ सेवालाई ग्रामिण स्तरसम्म पुर्याउने गरी त्यहीँ किसिमको जनशक्ति तयार गर्न प्रदेश सरकार लागि परेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य नारायण बुर्जामगरले पशु, कृषि कार्यालय र त्यहाँका कर्मचारी सिधै किसानसँग जोडिने भएकाले किसानले बुझ्ने र सहज हुने गरी सेवा प्रभावकारी बनाउनु पर्ने बताए ।
आकर्षक डिजाईनको अत्याधुनिक भवन कार्यालय प्रमु्ख कार्यकक्ष, सभाकक्ष, तीनवटै तलामा पुरुष–महिलाका लागि फरक–फरक शौचालय, खानेपानी र कर्मचारीकक्षका लागि प्रसस्त कोठा र कार्यालय प्रमुखको निवाससहितको रहेको कार्यालयले जनाएको छ । भवन अपाङ्गमैत्री रहेको छ ।